FAQs Complain Problems

दोस्रो राष्ट्रपति रनिङ शिल्ड २०७६ भव्यताका साथ सम्पन्न: गोल्मेश्वर माविले दोस्रोपटक जित्यो रनिङ शिल्डको उपाधि ।

११ विद्यालय, ११ खेल, २२१ खेलाडी ६३ पदक
"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नारालाई सार्थक बनाउँदै तामाकोशी गाउँपालिकाको विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६, फागुन १४ देखि १६ गतेसम्म वडा नं ७ को गुमी खेलमैदानमा भव्य रुपमा सम्पन्न भएको छ । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आयोजना भएको रनिङ शिल्ड प्रतियोगिता दोस्रोपटक कालिका मावि हाँवाद्वारा आयोजक विद्यालयको हैसियतमा विभिन्न व्यवस्थापन गरिएको थियो । गाउँपालिकाले आयोजक विद्यालयका प्रधानाध्यापक भरत मुखियाको संयोजकत्वमा ४ सदस्यीय तामाकोसी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन उपसमिति गठन गरेको थियो । प्रतियोगिता अवधिभर जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रशिक्षक बालकृष्ण खड्का तथा जिल्ला भलिबल खेलकुद परिषदका अध्यक्ष दामोदर पाण्डेको सक्रिय भुमिकामा खेलकुदको सहजीकरण गरिएको थियो ।
भलिवल र एथलेटिक्सका बिभिन्न विधाका कुल ११ खेलमा प्रतिस्पर्धा भएको खेलकुद प्रतियोगितामा गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयहरुका २२१ जना खेलाडीहरुको सहभागीता रहेकोमा उत्कृष्ट स्थान हाँसिल गर्ने गोल्मेश्वर मावि मालुले ९ ओटा स्वर्ण पदक सहित दोस्रो संस्करणको रनिङ शिल्डको उपाधि जितेको छ । त्यसैगरी कालिका  मावि हाँवा ४ स्वर्ण र सितापाईला मावि जफेले २ स्वर्णसहित क्रमशः दोस्रो र तेस्रो स्थान हाँसिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा भलिबल छात्र तथा छात्रा, एथलेटिक्स ट्याक तर्फ १००मि., २००मि., ४०० मि., ८००मि. (छात्र मात्र) र ४x१०० मि.को रिले दौड (छात्र/छात्रा) गरि  पाँच ओटा इभेन्ट्सका खेलहरु भएका थिए । त्यस्तै गरी एथलेटिक्स फिल्ड तर्फ हाइजम्प, लङ्गजम्प, ट्रिपल जम्प, सटपुट र ज्याभलिन थ्रो गरी पाँचैवटा इभेन्टसका खेलहरू गरी जम्मा ११ वटा इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो । तामाकोसी गाउँपालिकाका १३ वटा माध्यमिक विद्यालयहरु मध्ये ११ वटा माध्यमिक विद्यालयका कुल ११७ छात्र तथा १०४ छात्रा खेलाडी सहित २२१ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । गाउँपालिकाका नारायणी मावि भिरकोट, अमर मावि, जनप्रभात मावि झुले, सीतापाइला मावि जफे, गोल्मेश्वर मावि, सिद्धेश्वर मावि र गुप्तेश्वर मावि मालु, त्रिकुटेश्वर मावि, जनजागृति मावि सहरे, महेन्द्र मावि च्यामा र कालिका मावि हाँवा गरी ११ वटा विद्यालयले भाग लिएकोमा कालापानी मावि जफे र खिम्ती प्रोजेक्ट स्कुल शहरेले कुनैपनि स्पर्धामा सहभागीता जनाएका थिएनन् ।
भलिवल छात्रा तर्फ स्वर्ण कालिका मावि हाँवा र उपविजेता नारायणी मावि भिरकोट भएका छन् । त्यस्तै छात्र भलिबलको फाइनलमा नारायणी मावि भिरकोटले कालिका माबि हाँवाको टीमलाई हराउँदै स्वर्ण जितेको छ । १००मि. छात्र दौड तर्फ जनजागृति तथा छात्रा गोल्मेश्वर, २००मि. छात्र गोल्मेश्वर छात्रा तर्फ गोल्मेश्वर त्यस्तै ४X१००मि. रिले दौड छात्र  र छात्रा दुबै तर्फ गोल्मेश्वर माविले स्वर्ण जितेका छन् । त्यस्तैगरी ४००मि. एकल दौडमा छात्र तर्फ त्रिकुटेश्वर मावि, छात्रा तर्फ गोल्मेश्वर माविले स्वर्ण जितेको छ । ८००मि. छात्र तर्फ कालिका माविले स्वर्ण हात पारेको छ ।
भलिबल छात्रा तर्फ वेस्ट लिफ्टर नारायणी मावि निरुता शिवाकोटी, वेस्ट स्पाइकर छात्रा कालिका मावि पवित्रा सुनुवार तथा वेस्ट डिफेन्स छात्रा कालिका मावि अप्सरा सुनुवार भएका छन् । त्यस्तै छात्र तर्फ वेस्ट लिफ्टर कालिका मावि होम सुनुवार, वेस्ट स्पाइकर अमर मावि माधव पोखरेल र वेस्ट डिफेन्स नारायणी माविका दिपेश कार्की घोषणा भएका थिए ।
खेल उद्घाटन समारोहमा प्रदर्शन गरिएको मार्चपास प्रदर्शनीमा गोल्मेश्वर मावि मालुले उत्कृष्ट स्थान हासिल गरेको थियो ।
खेलको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको प्रमुख आतित्यतामा फागुन १४ गते सम्पन्न भएको थियो । त्यस्तै जिल्ला खेलकुद विकास समितिका संयोजक रोहित खड्का, गाउँपालिका उपाध्यक्ष उर्मिला खड्का केसी, प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइराला लगायत विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, शिक्षक, विद्यार्थी र सर्वसाधारण सहित खेलअवधिभर करिब १००० को उपस्थिति रहेको थियो ।
निर्धारित समयमा खेल सम्पन्न हुन नसकेपछि बाँकि रहेका खेलहरु सकिएपछि फागुन १७ गते बिहान कार्यक्रमको औपचारिक समापन तथा शिल्ड तथा मेडल वितरण गर्दै दोस्रो संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोह गाउँपालिकाका प्रमुख श्री इश्वर चन्द्र पोखरेलको प्रमुख आतित्यतामा भएको छ ।
खेल पदक तालिका:

आर्थिक वर्ष: