FAQs Complain Problems

संगठनात्मक स्वरुप

यस गाउँपालिकाले जनता समक्ष गर्नुपर्ने सेवा प्रवाहका सन्दर्भमा आवश्यक काम कर्तब्य र अधिकार तथा उद्देश्यहरू समेटेर उक्त प्रयोजनका लागि नागरिक बडापत्र जारी गरेको छ । साथै आफ्नो संगठनात्मक स्वरूपको ढाँचा समेत यहाँ राखिएको छ ।

भूमिकाः

जनतालाई आवश्यक पर्ने अत्यावश्यक देखि सामान्य सेवा सुविधाहरु राज्यका तर्फबाट सरल एवं छिटो छरितोरुपमा जनतासमक्ष पुर्‍याउने प्रक्रिया नै सार्वजनिक सेवा प्रवाह हो। यी सेवा सुविधाहरु मितव्ययी एवं प्रभावकारी ढंगले उपलब्ध गराउनु राज्यको दायित्व हुन्छ। राज्यद्वारा सञ्चालित हरेक क्रियाकलाप जनतालाई केन्द्र बिन्दु बनाएर उनीहरुकै सर्वोत्तम हितलाई ध्यानमा राखी गरिनुपर्दछ । सार्वजनिक संस्थाबाट प्रवाहित गुणस्तरीय सेवा प्राप्त गर्नु र सो कार्यका सम्बन्धमा आवश्यक सूचना माग्ने र पाउने प्रत्येक नागरिकको हक हो । यस्तो हक प्रत्याभूति गर्नु र जनताप्रति जवाफदेही हुनु राज्यका अङ्गको कर्तव्य हुन्छ । यसै सन्दर्भमा संविधान, कानुन बमोजिम तामाकोशी गाउँ कार्यपालिकाको कार्यालयबाट के कस्ता सेवा प्रवाह हुन्छ ? सेवाको प्रत्याभूत कसरी गरिन्छ र त्यसका के कस्ता कानुनी र व्यवहारिक प्रक्रिया छन् ? सेवाग्राहीबाट कार्यालयले के कस्तो अपेक्षा राखेको छ भन्ने जस्ता कुराको सामान्य जानकारी दिलाउने उद्देश्यका साथै तामाकोशी गाउँ कार्यपालिकाको कार्यालय, विषयगत शाखा तथा कार्यालयहरु र अन्तर्गतका वडा कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवालाई चुस्त, पारदर्शी, मितव्यापि दुरुस्त र प्रभावकारी बनाउने तथा सेवा प्रवाह एवं सेवाग्राहि प्रश्न उत्तरदायि बनाँउदै सुशासन कायम गर्ने उद्देश्यले यस गाउँपालिकाले आफ्नो वडापत्र जारी गरेको छ ।

१) वडापत्रको उद्देश्यः

  • तामाकोशी गाउँ कार्यपालिकाको कार्यालय, विषयगत शाखा तथा कार्यालय र वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा सम्बन्धमा आम सेवाग्राहीहरुलाई सुसूचित गर्नु,
  • सार्वजनिक प्राप्तिका सिलसिलामा कार्यालयबाट सम्पादन हुने काम, कारबाही र कार्य प्रक्रियाका साथै आवश्यक कागजातहरुको बारेमा जानकारी गराउनु,
  • गाउँपालिकाबाट प्रवाह हुने काम कारबाहीलाई पारदर्शीसहज पहुँचयोग्य बनाई विश्‍वसनीय बनाउनु,
  • सेवाग्राहीप्रति गाउँपालिकाका कर्मचारीहरुमा जिम्मेवारी र उत्तरदायित्वको भावनाको विकास गराउनु,
  • कस्ता प्रकृतिको कुन कामका लागि कुन कार्यालय, शाखा वा फाँट वा कर्मचारीसँग सम्पर्क राख्दा कुन प्रक्रियामा कति समयभित्र सेवा प्राप्त गर्न सकिन्छ भन्ने सन्दर्भमा सेवाग्राहीलाई जानकारी गराउनु,
  • सेवाप्राप्तिका लागि ज्ञानमा आधारित समाज विकास गरी सेवा प्रवाहलाई सुलभ, सरल र प्रभावकारी बनाउनु ।

२) सेवाग्राहीको अधिकारको प्रत्याभूति

गाउँपालिका नेपालको संविधानको धारा २९५(३) बमोजिम कायम भएको कार्यपालिकीय, व्यवस्थापकीय र न्यायपालिकीय केही अधिकार प्रयोग गर्ने एक स्थानीय तहको सरकार हो । अर्कोतिर नियमित सेवा प्रवाह गर्ने सार्वजनिक कार्यालय पनि हो । यसर्थ यस वडापत्रले सेवाग्राहीको निम्न अधिकारको प्रत्याभूति गर्दछः

  • संविधान एवं कानुन बमोजिम प्राप्त गर्नुपर्ने गुणस्तरीय सेवा प्राप्तिको अधिकार,
  • स्वच्छ र निश्पक्ष सुनुवाईको अधिकार,
  • सामाजिक न्याय, समानता र समताको आधारमा प्राप्त हुने अवसर प्राप्तिको हक,
  • , विनम्र र समान व्यवहारको अधिकार,
  • सरकारी काम र प्रक्रियाका बारेमा जान्न र बुझ्न पाउने र सेवा सुनिश्चितताको अधिकार,
  • आफूले तिरेको कर वा सेवा शुल्क वापतको रकमको सहि सदुपयोग भए नभएको जान्न पाउने अधिकार,
  • सेवा प्राप्ति र गुणस्तरका बारेमा चित्त नबुझेमा वा कुनै गुनासो भएमा गुनासो तथा उजुरी गर्ने अधिकार ।

३) कार्यालयले सेवाग्राहीबाट राखेको अपेक्षाहरुः

  • सेवा प्रवाहका बारेमा चित्त बुझेमा अरुलाई बताउनुहुनेछ र चित्त नबुझेमा वा सुधार गर्नुपर्ने भएमा गुनासो सुन्ने अधिकारी वा कार्यालयका जिम्मेवार व्यक्तिलाई भन्नुहुनेछ ।
  • सेवा लिन आउँदा कामको आधारमा आवश्यक पर्ने सबै कागजात वा प्रमाणपत्र लिएर आउनुहुनेछ ।
  • नातागोता र पहुँचको भरमा कानून विपरितको काम वा रीत नपुगेको काम गर्न गराउनदिनुहुने छैन । रीत नपुगेको वा कानून विपरितको काम नहुँदा संयमित भएर आवश्यक जानकारी लिनुहुनेछ ।
  • मादक पदार्थ सेवन गरेर कार्यालयमा प्रवेश गर्नुहुनेछैन ।
  • कार्यालय परिसरमा धुम्रपान, असभ्य बोली, हिंसाजन्य क्रियाकलाप लगायत कानुन विपरित कार्यहरु गर्नुहुनेछैन ।
  • सफा हात र दिलसँग सही र सत्य कुराको उजुर गर्नु हुनेछ ।
  • अनावश्यक होहल्ला, आक्रोश र आवेगबाट मुक्त भई सभ्य नागरिकको पहिचान दिनुहुनेछ ।
  • गाउँपालिकाका पदाधिकारी, कर्मचारी र अन्य सेवाग्राहीहरुसँग सभ्य, शिष्ट र नम्र व्यवहार प्रदर्शन गरिदिनु हुनेछ ।
  • कामको प्रकृति र प्रक्रियाका आधारमा आफ्नो पालो पर्खिई धैर्‍यताको प्रदर्शन गर्नुहुनेछ ।
  • कार्यालयका अलावा तपाई हिँड्ने बाटो, बस्ने गाउँ/टोल र घरलाई सधै स्वच्छ, सफा र हरियाली राख्न प्रतिवद्ध र कटिवद्ध हुनुहुनेछ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.